सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई केन्द्रीय अनुसन्धान व्युरोले ठगीको आरोपमा पक्राउ गर्‍यो। व्युरोले उनीसहित ठगीमा संलग्न ४० जनालाई पक्राउ गरेको हो।

तामाङ अध्यक्ष रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको र रकम हिनामिना गरेको आरोपमा सीआइबीको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो। उनीविरुद्ध ७० जना बढीले उजुरी दिएका थिए।

उनीविरुद्ध ५ वर्षअघि नै उजुरी परेको प्रहरीले जनाएको छ। तर राजनीतिक आडमा शक्ति र सत्ताको उपयोग गरेर उनी जोगिँदै आएका थिए। उनी एमालेका पूर्व सांसद पनि हुन्। स्रोतका अनुसार झलनाथ खनाललगायत नेताहरुका कारण उनी उम्किँदै आएङका थिए।

उनले सहकारीबाट नियमविपरीत निक्षेपको उपयोग गर्दै आएका थिए। कूल निक्षेपको दस प्रतिशतभन्दा बढी एक सदस्यले कर्जा लिन नपाउने व्यवस्था रहेपनि तामाङ एक्लैले ८० प्रतिशतभन्दा बढी ऋण लिएर दुरुपयोग गरेको बताइन्छ। तामाङले ८ अर्ब निक्षेपमध्ये एक्लैले ७.५ अर्ब रुपैयाँ लगानी गरेको बताइन्छ। उक्त रकम उनले सिभिल होममा लगानी गरेका हुन्।

सहकारी ऐनअनुसार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको अनुमतिबिना प्रहरीले सहकारीको सञ्चालकलाई पक्राउ गर्न पाउँदैन। सोमबार मन्त्रालयले अनुमति दिएपछि तामाङसहित वर्तमान अध्यक्ष र सञ्चालक समितिका अन्य सदस्यहरूसहित १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

इच्छाराजको उदय र ठगी धन्दाको यात्रा

इच्छाराज तामाङ पेसाले इन्जिनियर हुन्। उनले विसं २०५५ सालमा इन्जिजियरिङ सकाएका थिए। त्यसपछि उनले पुल्चोक इन्जिनियरिङ क्याम्पमा अध्यापन गराउँथे। उनी त्यहाँ करारमा पढाउँथे। त्यही बेला उनी गोरखा सेभिङ एन्ड क्रेडिटमा अध्यक्ष भए। त्यहाँ आफ्ना ज्वाइँलाई प्रयोग गरेर उनी अध्यक्ष बनेका थिए। तर ज्वाइँसँग तनाव बणेपछि उनी त्यहाँबाट निकालिए।

केही समय विक्षिप्त बनेका उनले सहकारी खोल्ने निर्णयमा पुगे। उनले संग्रौला परिवारसँग मिलेर सिभिल सेभिङ एन्ड क्रेडिटको स्थापना गरेका थिए। एक वर्षमै ४ करोड मुनाफा कमाएपछि उनी झनै हौसिएका निकटहरु बताउँछन्। उनले त्यही बेला बिना निक्षेप र धितो सिभिल ह्योम प्रालीमा लगानी गर्न प्रस्ताव ल्याएका थिए। जसकारण सञ्चालक समिति पनि विभाजित हुन पेगेका थिए। यसबीचमा तामाङ समूह र विरोधी समूहबीच दुई वर्ष झगडा भएको थियो।

निकटका अनुसार २०६६ सालामा सोल्टी होटलमा आयोजित संस्थाको वार्षिक साधारणसभामा अर्को समूहलाई तामाङले गुन्डाहरू राखेर प्रवेशमा निषेध गरेका थिए। उक्त साधारणसभाले कार्य समितिको निर्णयअनुसार विरोधी समूहको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गर्‍यो।

सिभिल होमको पहिलो चरणका घर बिक्रीबाट उनले धेरै मुनाफा कमाए। उनी दोस्रो चरणमा कलंकी नजिक ढुङेअड्डामा सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास योजनाबाट ९६ घरका निर्माणका लागि अनुमति पाए। उनले घर विक्री गर्ने क्रममा आकर्षक घर सहित फराकिलो बाटो, स्विमिङ पुल र जिम हल र पार्क सम्मका सुविधाहरूको ब्रोसर छापेर दोस्रो चरणमा कानून विपरित २७ घर थप गरेर १२३ घर बिक्री गरे।

सुविधाअनुसार घर सुविधा उपलव्ध गराउन तामाङ असफल भएपछि दोस्रो चरणमा घर खरिद गर्ने ग्राहकहरूको समूह ‘वेलफेयर सोसाइटी अफ सिभिल होम फेज टु’ तामाङविरुद्ध उच्च अदालतमा गयो। उक्त मुद्दा वेलफेयर सोसाइटीले जित्यो पनि। मुद्दा हारेपछि विक्षिप्त बनेका तामाङ सर्वोच्च अदालत गुहार्न पुगे । सर्वोच्च अदालतले पनि उच्च अदालको फैसाल सदर गरेको थियो।

सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा आउन नसकेपछि दोस्रो फेजमा घर खरिद गरेका बासिन्दाले मुद्दा जितेर पनि घर उनीहरूको नाममा नामसारी भएको छैन। विभागको कानून संशोधन गर्नुपर्ने भनाइका कारण सिभिल होम आवास योजना अन्तर्गतको दोस्रो फेजदेखि छैटौं फेज र सिटीसी मलसम्मका खरिदकर्ताहरू पीडित भएका छन्।

तामाङले सिभिल होम योजनाअन्तर्गतका हस्तान्तरण नभएका घर तथा महलहरू, स्वीमिङ, पार्क, क्लव हाउससम्म जग्गाहरू समेत सिभिल सहकारीमा राखी करोडौं रूपैयाँ कर्जा लिएका छन् । साथै उनले दोस्रो फेजका घरहरू राष्ट्रिय सहकारी बैंकमा धितो राखेर ४ करोड र तेस्रो फेजका घरहरू धितो राखेर ८ करोड रूपैयाँ कर्जा लिएको देखिन्छ । राष्ट्रिय सहकारी बैंकले पनि तामाङको इसारामा धितो मुल्याङकन गर्न नआई कर्जा दिएको सिभिल होम समूहका एक सदस्य बताउँछन् । यसैगरी तामाङले सोल्टीमोडस्थित सिभिल सहकारीको केन्द्रीय कार्यालय समेत व्यक्तिको नाममा धितो राखी कर्जा लिएको जानकारी प्राप्त भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *